Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बढ्यो रेमिट्यान्स, ११ महिनामा ११ खर्ब १२ अर्ब भित्रियो

काठमाडौँ । गत साउनदेखि जेठसम्म रेमिट्यान्स उल्लेख्य बृद्धि भएको छ । ११ महिनामा मुलुकमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले मात्रै बढेको थियो । गत आवको तुलनामा चालु आर्थिक वर्षमा रेमिट्यान्स २२.७ प्रतिशतले बढेको हो । 

अमेरिकी डलरमा पनि रेमिट्यान्स १३ प्रतिशतले बढेर ८ अर्ब ५१ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको हो ।

एघार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले बढेको छ । गएको ११ महिनामा ४ लाख ५९ हजार ४ सय १५ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०।५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २ सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update