चरिकोट । दोलखाको मेलुङ गाउँपालिकामा पनि लम्पी स्किन रोगको प्रकोप बढेको छ । उक्त रोगको संक्रमण बढेपछि गाउँपालिकाले सतर्कताका लागि स्थानीयलाई आग्रह गरेको छ । लम्पीको प्रकोप बढेपछि मेलुङ् गाउँपालिका वडा नम्बर ३ मा पशुको व्यापार र ओसार पसारमा रोक लगाईएको छ ।
वडा नम्बर ३ का कार्यबाहक वडा अध्यक्ष कमल लकान्द्रीले वडामा लम्पी स्किनको प्रकोप व्यापक मात्रामा देखिएको जानकारी दिए । उनका अनुसार रोग नियन्त्रणमा नआएसम्मका लागि पशुहरुलाई व्यापार व्यवसाय, ओसार पसार तथा ढुवानी गर्न मनाही गरिएको छ ।
दोलखामा लम्पी स्किन रोगका कारण चार दर्जन बढि पशुको मरिसकेका छन् । हिमाली क्षेत्रका चौंगीगाईमा समेत लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटले उक्त रोग नियन्त्रणका लागि भ्याक्सिन खरिद गरी सम्बन्धित स्थानीय तहमा पठाईसकिएको जनाएको छ ।