चरिकोट । पशुचौपायामा प्रकोपको रुपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण दोलखामा पनि पुष्टि भएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका–६ मा पालिएका चौंरीमा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको हो । लम्पी स्किन संक्रमण भएका २ वटा चौंरी मरेको स्थानीयले जानकारी दिएका छन् ।
पशु प्राविधिकहरुले चौंरी गाईहरुमा लम्पी स्किन संक्रमण पुष्टि गरेका छन् । लम्पी स्किन संक्रमणका कारण डेढ दर्जन बढि चौंरी बिरामी परेका छन् । ३ हजार ८ सय मिटर उचाइमा पालिएका चौंरीमा लम्पी स्किनको प्रकोप देखिएको हो । लम्पी संक्रमण फैलिएपछि किसान चिन्तित छन् ।
२६ वटा चौंरी पालिरहेका किछिरि शेर्पाका १५ वटा दुहुना चौंरीमध्ये १० बिरामी छन् । चौंरीमा उच्च ज्वरो आउने, शरीरभर गिर्खा आउने, घाँसपात खान नमान्ने जस्ता लक्षण देखा परेको उनले बताए । कालिञ्चोक क्षेत्रमा १७ गोठका ४ सय भन्दा बढी चौरी छन् ।
चौंरी बिरामी भएपछि भीमेश्वर नगरपालिकाबाट पशु प्राविधिक चौंरी गोठ पुगेका छन् । नगरपालिका पशु शाखाका अनुसार बिहिवार कालिञ्चोकमा २२ वटा चौंरीलाई उपचार गरिएको छ । जिल्ला स्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार हालसम्म जिल्लाभर ३ हजार भन्दा बढी पशु चौपायामा लम्पी स्किनको प्रकोप देखापरेको छ । सोही कारण ३५ पशु मरेको तथ्यांक छ ।