काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने अडान राखेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले संसद संचालनका लागि प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अडान राखेको हो ।
‘एमालेले राजीनामाभन्दा तल आउन नसकिने बताएको छ । माओवादी र कांग्रेसले पहिला प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न त दिनुस् भनेका छन्,’ बैठकमा सहभागी एक नेताले भने,‘छलफल भइरहेको छ।’ गत सोमबार सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपाल राष्ट्रको सार्वभौमिकता र संसदको मानहानी गरेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले उनको राजीनामा मागेको छ। यही विषयमा एमालेले असार २० गतेको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो। प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ। आजै एमालेले राष्ट्रिय सभामा पनि यही विषयमा अवरोध गरेको छ।