दोलखा । दोलखाको प्रसिद्ध चरणावती त्रिवेणी धाममा गत जेठमा सम्पन्न श्रीमद् देवी भागवत महायज्ञको आयव्यय बिवरण सार्वजनिक गरिएको छ । सदरमुकाम चरिकोटमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आम्दानी तथा खर्चको बिवरण सार्वजनिक गरिएको हो । महायज्ञका आर्थिक संयोजक एवं चरणावती धाम विकास तथा प्रवद्र्धन संस्थाका कोषाध्यक्ष शम्भु खड्काका अनुसार महायज्ञमा रसिद मार्फत प्राप्त सहयोग र कलश विक्रि लगायत गरी कुल एक करोड चार लाख ३६ हजार ९५१ आम्दानी भएको छ ।
महायज्ञका दौरान एक हजार २७ जनाले न्यूनतम एक हजार रुपैयाँ देखि अधिकतम १५ लाख २ हजार रुपैयाँसम्म रसिद मार्फत दान गरेको उनले जानकारी दिए । यसैगरी महायज्ञ संचालनका क्रममा प्रचारप्रसार तथा अन्य व्यवस्थापनमा ३१ लाख ७१ हजार १२२ खर्च भएको छ । मौज्दात रहेको ७३ लाख ५ हजार ८२९ रुपैयाँ बराबरको रकम अक्षयकोषमा जम्मा गरिएको आयोजक संस्थाले जनाएको छ ।
संस्थाका अनुसार महायज्ञमा विभिन्न व्यक्तिहरुले घोषणा गरेको करिव १५ लाख रकम प्राप्त हुन बाँकी छ । जिल्लाका बिभिन्न स्थानीय तहहरुले महायज्ञमा रकम सहयोग गर्ने घोषणा गरेका थिए । प्रतिवद्धता जनाईएको रकम प्राप्त भएपछि आम्दानी बिवरण पुनः सार्वजनिक गरिने आयोजक संस्थाको भनाई छ । पालिकाहरुले घोषणा गरेको रकम जम्मा भए कुल २ करोड भन्दा बढी रकम कोषमा रहने संस्थाका अध्यक्ष गुण बहादुर बुढाथोकीले बताए । त्रिवेणी धाममा निर्मित ज्येष्ठ नागरिक सेवा केन्द्र भवन (वृद्धाश्रम) संचालनका लागि संस्थाले महायज्ञको आयोजना गरेको थियो ।
दोलखाका वैतेश्वर, तामाकोशी, मेलुङ र शैलुङ गाउँपालिका तथा भीमेश्वर नगरपालिकाको केन्द्रविन्दुमा पर्ने चरणावती त्रिवेणी धाममा संघीय सरकार, प्रदेश सरकार र गाउँपालिका समेत गरी करिव ३ करोड ३५ लाखको लागतमा १८ कोठे ज्येष्ठ नागरिक सेवा भवन निर्माण भैसकेको छ । ४० जना वृद्धवद्धालाई व्यवस्थित सेवा प्रदान गर्ने उदेश्यले भवन निर्माण गरिएको हो ।