Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भीमेश्वर नगरपालिकामा आलु, तरकारी र किवीको उत्पादन बढ्दै, बजारको सँधै चिन्ता

भीमेश्वर नगरपालिकामा आलु, किवी तथा तरकारी उत्पादन, सम्भावना र चुनौती


परिचय :
दोलखा जिल्ला भीमेश्वर नगरपालिका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्ट्रिकोणले मात्रै होईन व्यवसायिक कृषि उत्पादनको दृष्टिले पनि अत्यन्तै सम्भावनायुक्त नगर हो । विशेषगरी यस नगरपालिकामा कृषिवाली मध्येपनि किवी, तरकारी र आलु उत्पादनको प्रचुर सम्भावना छ । 

पहाडी प्रदेश अन्तर्गत पर्ने र न्यूनतम ८४० मिटर (चर्णावती त्रिवेणीधाम) देखि अधिकतम ३५४९ मिटर उचाइसम्म नगरपालिकाको भूगोल फैलिएको छ । नगरपालिकाको तल्लो भागमा उतोष्ण हावापानी पाइन्छ भने मध्ये भागमा न्यानो समशितोष्ण हावापानी र माथिल्लो भागमा शितोष्ण हावापानी पाइन्छ । नगरपालिकाका ९ वटै वडाहरू पक्की सडक संजालसँग जोडिएको र यहाँको भूगोल, माटो, हावापानी पनि कृषिवालीका लागि उपयुक्त रहेका छन् । 

भीमेश्वर नगरपालिकालाई कृषि पर्यटकीय (एग्रो टुरिष्म) गन्तव्यको रुपमा विकास गर्ने सम्भावना र आधारहरु धेरै छन् । त्यसका लागि व्यवसायिक अर्गानिक खेतीलाई अगाडी बढाउन र बजार सिर्जना गर्नुपर्ने आवश्यकता छ । व्यावसायिक अर्गानिक उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरणको यथोचित व्यवस्थापनतर्फ नगरपालिकाले वैज्ञानिक योजना÷कार्यक्रम निर्माणसँगै कार्यान्वयन गर्नुपर्दछ । 

वडाहरुमा कृषि उपज बिक्री केन्द्रहरु स्थापना गर्नुपर्दछ । कृषि प्रशिक्षण अभियान चलाएर युवाशक्तिलाई आकर्षित र प्रोत्साहन दिँदै कृषि व्यवसायमा होमिने वातावरण, आवश्यक नीति र कार्यक्रम तर्जुमा गर्नुपर्न आवश्यकता देखिन्छ ।  

किवी उत्पादन सम्भावना र चुनौती :
भीमेश्वर नगरपालिका वडा नम्बर–६, स्थित श्याम खड्काको बगैचामा २०४४ सालमा स्विस सरकारको परियोजना चल्दा बसेका स्विस नागरिकले किबी रोपेका थिए । त्यसपछि भीमेश्वर नगरपालिका वडा नम्बर–८, स्थित बोचको बागवानी फार्मले किवीको व्यवसायिक विस्तार गरेको हो ।  

भीमेश्वर नगरपालिका जिल्लाकै सबैभन्दा बढी किवी उत्पादन गर्ने स्थानीय तह हो । यही नगरबाट किवी व्यवसायको सुरुवात भएको मानिन्छ । यस नगरको किवी खेती तर्फ पछिल्ला वर्षहरुको तथ्याङ्क विश्लेषण गर्दा उत्पादन र उत्पादकत्व क्रमश बढ्दै गईरहेको पाईएको छ । अघिल्ला वर्षहरुमा स्थापित किवी बगैंचाबाट उत्पादनको क्रममा रहेको हुँदा किवीको उत्पादन थप बढ्दै जाने देखिएको छ । उपयुक्त प्रकृति, भौगोलिक तथा हावापानीको दृष्टिकोणले यहाँ किवीफलको व्यवसायीक खेतीको सम्भावना प्रशस्त छ । भीमेश्वर नगरपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडामा किवी खेती हुँदै आएको छ । 

जिल्लामा किबी खेती सुरु भएको एक दशकमै झण्डै ८ हजार टनभन्दा बढी उत्पादन भइरहेको अनुमान छ । त्यसमा भीमेश्वर नगरपालिका क्षेत्रको उत्पादन बढी छ । यसबाट किसानले कति आम्दानी गरेका छन् भन्ने एकिन बिवरण प्राप्त नभएपनि राम्रो आम्दानी भैरहेको कुरामा शंका छैन । 

कृषकहरुका अनुसार बजारमा सबैभन्दा राम्रो ग्रेडिङ भएको किबी किलोको २ सयदेखि ३ सय रुपैयाँमा बिक्री भइरहेको छ । तर किबी खेतीका नाममा जथाभावी जात रोपेका कारण गुणस्तरमा ह्रास आएको देखिन्छ । कृषकहरुले हाल हेवार्ड, एलिसन, मोन्टी, बरुनो लगायत ६ जातका किबी लगाएको पाईएको छ । यीमध्ये तुलनात्मक रुपमा हेवार्ड र एलिसनको बजार राम्रो छ । आम्दानीको लोभमा किसानले प्राविधिक ज्ञानबिनै खेती गर्ने गरेका कारणपनि गुणस्तरिय उत्पादनमा समस्या देखिएको छ । 

किवीको थप व्यवसायिकरण, बजारीकरण तथा प्रशोधनका लागि पर्याप्त नीति, योजना कार्यक्रम लागु हुन सकेको छैन । गुणस्तर उत्पादनमा पर्याप्त ध्यान पुग्न सकेको देखिँदैन । गुणस्तर फल उत्पादनको लागि कृषकहरुमा प्राविधिक ज्ञानको कमी देखिन्छ । गुणस्तरीय किवी फलको लागि किवी फल टिप्ने अवस्था, फलको भण्डारण र बगैंचाको स्याहार संभारमा ध्यान दिनु आवश्यक देखिन्छ ।

प्रविधि, प्राविधिक र विज्ञको अभाबको कारणले कृषकलाई चाहिने जति ज्ञान नहुनु, थाँक्रामा हुने बढी लागत, प्रशोधन र बजारीकरणको उचित प्रबन्ध नहुनु, युवा जनशक्तिको बिदेश पलायन आदि कारणले किवीको व्यवसायिकरणमा चुनौती थपिएको छ । 

बजारको चिन्ता र प्रशोधनको आवश्यकता : 
राम्रो भाउ पाउने आसमा भण्डारण गरेर राखिएको किवीले समेत बजार नपाउने अवस्था रहेको कृषकहरुको गुनासो पाईएको छ । सिजनमै किबीले पर्याप्त बजार र मुल्य नपाएपछि कृषकहरुमा चिन्ता बढ्दो छ । उत्पादन बढ्दै जाने तर बजार नपाउने अवस्थाका कारण कृषकमा निराशा बढ्न थालेको छ । सुरुमा किबीबाट राम्रो आम्दानी हुन्छ भनेर खेतीमा हौसिएका कृषकहरु हरेक वर्ष बजारमुल्य घट्दै जाँदा र मनलाग्दी भाउ हुँदा चिन्तित छन् ।  

कतिपय किसानले बजार नपाएपछि किबीबाट घरेलु मदिरासमेत बनाउन थालेका छन् । सरकारले किबीलाई ब्रान्डिङ गरेर विदेश निर्यात नगरेसम्म यसले बजार नपाउने किसानको तर्क छ । किबीको खपत नेपालमा अत्यन्तै कम हुने र बजार पनि नभएकाले किसान किबी खेतीबाट निरुत्साहित हुने हो कि भन्ने चिन्ता छ । ८० ग्रामभन्दा सानो किबीलाई गुणस्तरयुक्त मानिँदैन । तर किसानले छिटो आम्दानी लिन भदौमै टिप्ने गरेको पाईएको छ । 

कृषकलाई निराश हुन नदिन स्थानीय सरकारले तत्काल किबीलाई बजारीकरणको उचित व्यवस्थापन, शीतभण्डार निर्माण र प्रशोधनतर्फ ध्यान दिन आवश्यक छ । 

भीमेश्वरमा किवी उत्पादनको अनुमानित बिवरण :

                          स्रोत : भीमेश्वर नगरपालिका कृषि शाखा
क्र.सं.   बिवरण खेती गरिएको वडा स्थान    क्षेत्रफल   उत्पादन परिमाण आव.२०७७/०७८  उत्पादन परिमाण आव.२०७८/०७९ चालु आ.व. अनुमानित उत्पादन परिमाण
१.  किवी   भी न.पा.को वडा नं. १,२,३,६,७,८ र  ९ (धेरै भएको वडा ८)      ५६४ रोपनी ३९४८०० के जी  ३९७८०० केजी ३९९७०० के.जी

किवी खेती, किवी प्रशोधन र बजारीकरणमा विद्यमान समस्याहरु :
    नर्सरीमा गुणस्तरिय बेर्नाको उपलब्धता तथा जात पहिचान गरी बितरण हुन नसक्नु । नर्सरी अवस्थामा जरामा गाँठा पर्ने रोगको समस्या देखा पर्दै जानु । 
    किवी खेति गर्ने साना किसानहरुले किवीको संरचना थाँक्रो व्यवस्थापन गर्न नसक्नु । –जि आइ थाँक्रा प्रयोग गर्दा अनुदान व्यहोर्ने रकम व्यहोर्न नसक्नु । 
    किविको वजारिकरणका लागी ग्रेडिङ, प्योजिंग र भण्डारणको समस्या रहेको । 
    किविको प्रशोधनका लागी पर्याप्त कच्चा पदार्थ नहुनु तथा प्रशोधन केन्द्रको अभाव हुनु । 
    उपयुक्त हावापानीमा उपयुक्त जातहरुको पहिचान र बजारीकरणमा उपयुक्त हुने जातको पहिचान गर्न नसक्नु ।  
    किवीको हकमा बजारमा गुणस्तरिय ठूला दानाको माग धेरै भएको तर कृषकहरुमा प्राविधिक ज्ञानको कमी र कामदारको कमीको कारणले गुणस्तरीय किवी फल उत्पादन गर्न नसकेकाले साना फलहरु उत्पादन हुने र बजारको समस्या हुने गरेको । 
    किवीमा बाली संरक्षणको लागि कृषकस्तरमा जनचेतनाको कमी देखिएको ।
    बजारमा सबै कृषकहरुको पहुँच नभएकोले बिचौलियाको भर पर्नु परेको र कृषकहरुले सबै अवस्थामा राम्रो मूल्य पाउन नसकेको । यसमा स्थानीय सरकार र कृषकहरु एकजुट भै बजार व्यवस्थापनमा लाग्नु पर्ने देखिएको छ । 
    कृषकहरुले तिहारको मौका छापी फल पाक्ने बेला नै नभई बजारमा लग्ने गरेको । यसबाट नेपालको किवी अमिलो हुन्छ भन्ने नकारात्मक प्रचार भएको । 
    काठमाण्डौंको बजारमा स्वदेशी किवीले विदेशबाट आएको किवीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको र विदेशको किवीको मूल्य दोब्बर हुने गरेको । राम्रो मूल्य पाउनको लागि गुणस्तरीय स्वदेशी किवी पनि विदेशी भनेर बेच्नु पर्ने बाध्यता रहेको । 
    किवीफल भण्डारण, ग्रेडिङ, प्याकेजिङ हुन नसकेको । 
    किवीफलको महत्वको बारेमा जनचेतनाको पनि कमि भएको । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दोलखाले उपलव्ध गराएको कार्यक्षेत्रभित्रको बिवरण : 
क्र.सं. बिवरण खेती गरिएको वडा स्थान   क्षेत्रफल  उत्पादन परिमाण आव.२०७७/०७८    उत्पादन परिमाण आव.२०७८/०७९  चालु आ.व. अनुमानित उत्पादन परिमाण
१.   किवी भीनपा १, ६, ७, ८, ९   १२१२ रोपनी (६० हेक्टर)  ४२.५ मे.ट. ८२.६ मे.ट. १८१ मे.ट.

भीमेश्वरमा आलु उत्पादन, सम्भावना र चुनौती :
दोलखाको ३०६९ हे. क्षेत्रफलमा लगाएको हिउँदे आलु वालीबाट ५५,८८६ मे.ट. उत्पादन भै १८.२१ मे.ट. प्रति हेक्टर उत्पादकत्व कायम रहेको छ । जिल्लाको हिमाली क्षेत्रमा ३ हजार ७ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको प्रक्षेपण छ । वार्षिक ३५ देखि ४० हजार मेट्रिक टन आलु निकासी भएर ८० करोडभन्दा बढी रकम जिल्ला भित्रिने गरेको अनुमान छ । १० हजार किसान आलु खेतीमा निर्भर छन् ।

त्यसमा भीमेश्वर नगरपालिकाको ठुुलो हिस्सा छ । सामान्यतः भीमेश्वर नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मनै आलु खेती हुँदै आएको छ । त्यसभित्र पनि तुलनात्मक रुपमा १, ६, ७, ८ र ९ नम्बर बडामा आलुको व्यवसायिक उत्पादन हुने गरेको छ । भीमेश्वर नगरपालिकाको तथ्यांक अनुसार ११८६० रोपनी क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । वार्षिक ८३०२००० केजी आलु उत्पादन भैरहेको प्रक्षेपण छ । आलु उत्पादनले भीमेश्वर नगरपालिकाको कृषिमा महत्वपुर्ण स्थान ओगटेको छ । 

उपयुक्त समयमा हिउँदे वर्षा नहुँदा पनि आलु खेती गर्ने कृषकले समस्या बेहोर्दै आएका छन् । पुस अन्तिम सातादेखि माघ अन्तिमसम्म रोपिने आलुका लागि हिउँदे वर्षा आवश्यक हुन्छ । भीमेश्वर—८ की जगतमाया श्रेष्ठका अनुसार हिमपात र हिउँदे वर्षामा तलमाथि हुँदा आलु खेतीमा समस्या हुने गरेको छ । आलु वालीमा धेरै वर्ष पछि आकस्मिक रुपमा देखा परेको सेमिलुपर किराको प्रकोपका कारण आलुको उत्पादनमा गिरावट आएको छ । 

भीमेश्वर नगरपालिकामा आलु उत्पादनको बिवरण :

क्र.सं. बिवरण खेती गरिएको वडा स्थान   क्षेत्रफल  उत्पादन परिमाण आव.२०७७÷०७८   उत्पादन परिमाण आव.२०७८÷०७९ चालु आ.व. अनुमानित उत्पादन परिमाण
१.  आलु  १ देखी ९(धरेै भएको वडा १ र ९)    ११८६० रोपनी ९३७५०००  के जी ८३०२००० के जी ९६३४००० के जी

 स्रोत : भीमेश्वर नगरपालिका कृषि शाखा

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दोलखाले उपलव्ध गराएको कार्यक्षेत्रभित्रको बिवरण :

क्र.सं.  बिवरण  खेती गरिएको वडा स्थान क्षेत्रफल उत्पादन परिमाण आव.२०७७/०७८ उत्पादन परिमाण आव.२०७८/०७९  चालु आ.व. अनुमानित उत्पादन परिमाण
१.  आलु भी.न.पा. ९ २९७ रोपनी – १५ हेक्टर  ९८ मे।ट।  ९३।५ मे।ट।   ९२।१

स्रोत : प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई दोलखा 

आलु उत्पादनदेखि बजारीकरणसम्म विद्यमान समस्याहरु : 
    आलुमा विशेषगरी रातोकमिला, खुम्रे र फौजि किराको प्रकोप वढ्दै जानु । 
    पर्याप्त वजारीकरण हुन नस्क्नु । 
    रैथानै आलुको जातहरु लोप हुदै जानु । 
    आलु भण्डारण केन्द्र तथा प्रशोधन गरी विभिन्न परिकार चिप्स पिठो ...आदी वनाउने उद्योग स्थापना नहुनु । 
    जंगली जिव जन्तु दुम्सी, मृग र वाँदरवाट वाली क्षती हुदाँ कृषकमा निराशा उत्पन्न हुनु । 
    स्थानीय रुपमा उत्पादन भएको स्थानीय जातको आलुलाई बीउको रुपमा आगामी वर्षको लागि राख्ने गरेको र यसबाट उत्पादन क्रमिक रुपमा घट्दै जाने गरेको । 
    धेरैजसो क्षेत्रमा आकासे पानीको भरमा खेती हुने गरेको र समयमा पानी नपर्नाले उत्पादनमा धेरै ह्रास हुने गरेको । 
    भीमेश्वरमा उत्पादन भएको आलु मुडेको आलुको नाममा बजारीकरण हुने गरेकोले दोलखाको आलुको ब्राण्डिङ जरुरी भएको । 
    आलुमा रोग प्रतिरोधी र उत्पादन धेरै हुने जातको गुणस्तरिय बीउ आलु लगाउने गरे उत्पादनमा बृद्धि हुने । कृषकहरुको बीउ आलु उत्पादन गरी भीमेश्वर नगरपालिकालाई गुणस्तरिय बीउ आलुमा आत्मानिर्भर गराउन सक्ने सम्भावना रहेको । 

भीमेश्वर नगरपालिकामा तरकारी उत्पादन, सम्भावना र चुनौती : 
भीमेश्वर नगरपालिका तरकारी उत्पादनको दृष्टिले पनि प्रचुर सम्भावनायुक्त नगर हो । विगतको तुलनामा नगरपालिकामा तरकारी उत्पादन परिणाम बढेर गएको देखिन्छ । नगरपालिका कृषि शाखाको तथ्यांक अनुसार करिब ७२१६ रोपनी क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । नगरपालिका क्षेत्रमा कृषकहरुले रायो, काउली, बन्दा, सिमि, गाँजर, भिण्डी,  मुला लगायतका तरकारी उत्पादन गर्दै आएका छन् । नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मै तरकारी खेती हुँदै आएको छ । वडा नम्बर ७ मा व्यवसायिक रुपमा तरकारी उत्पादन बढि हुने गरेको छ । गत आर्थिक वर्षको एक आँकडा अनुसार नगरपालिकाभित्र ६६२०५०० केजी तरकारी उत्पादन भएको थियो । 

विगत १४ वर्षदेखि व्यवसायिक कृषि फर्म संचालन गर्दै आएका भीमेश्वर नगरपालिका–६, रामकोटका माधव प्रसाद न्यौपानेले कृषकलाई बजारीकरणको समस्या अझै प्रमुख रुपमा रहेको बताए । ‘उनी भन्छन्, बजारकै समस्या रहेकाले नगरपालिकाले किसानको आफ्नै बजार बनाईदेओस्, बाहिरबाट आयातित तरकारीको मुल्यसँग प्रतिस्पर्धा गर्न गाह्रो छ, त्यसैले स्थानीय तरकारीको प्रवद्र्धन र अर्गानिक उत्पादनलाई ब्राण्डिङ, लेभलिङ, कृषि एम्बुलेन्सको व्यवस्था हुनुपर्दछ । जग्गा एकिकरण गरेर फार्मिङ गर्ने र उत्पादनको आधारमा सहुलिएको व्यवस्था भए कृषिको व्यवसायिकरणमा टेवा पुग्नसक्छ ।’ 

वडा नम्बर ७ मा रायोसाग मात्रै डेढ सय घरधुरीले लगाएका छन् । त्यहाँको रायो ठकेदारहरु मार्फत काठमाण्डौंको कालीमाटी र तराईका बजारसम्म पुग्ने गरेका छन् । स्थानीय कृषक वसन्ती राउतका अनुसार रायो बारीबाटै प्रतिकिलो ४० देखि ५५ रुपैयाँसमम विक्री हुन्छ । यो साग राजधानी र तराईका बजारमा १२० देखि १५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।  

डेढ दशकअघिसम्म जिविकोपार्जनमा समस्या झेल्दै आएका यहाँका कृषकले वडा नम्बर ७ लाई बेमौसमी तरकारी खेतीको पकेट क्षेत्रका रुपमा परिचय दिलाएका छन् । एक याममा रायोको सागबाट एक जना किसानले १ लाखदेखि १२ लाखसम्म आम्दानी गरेका छन् । यहाँ तीनवटा चक्रमा नगदेबाली लगाईन्छ । डेढसय भन्दा बढि किसान त्यसमा संलग्न छन् भने ३ करोड भन्दा बढिको रायो विक्री हुने अनुमान गरिएको छ । 

काउली र बन्दा लगायतका तरकारीपनि ठुुलो परिमाणमा उत्पादन हुने गरेको छ । तर सरकारले समयमै भाउ नतोकिदिने र बिचौलियाका कारण कतिपय किसान निराश छन् । बजारको भन्दा एक तिहाई रकम मात्रै किसानको हातमा पर्ने गरेको छ ।  

भीमेश्वर नगरपालिकामा तरकारी उत्पादनको बिवरण :

क्र.सं.  बिवरण खेती गरिएको वडा स्थान क्षेत्रफल  उत्पादन परिमाण आव.२०७७/०७८  उत्पादन परिमाण आव.२०७८/०७९  चालु आ.व. अनुमानित उत्पादन परिमाण
१. तरकारी १ देखी ९ (धेरै भएको वडा ७) ७२१६ रोपनी ६२०९३०० के जी  ६६२०५०० के जी ७०५०२०० के जी 

 स्रोत : भीमेश्वर नगरपालिका कृषि शाखा
    मकैवारीलाई तरकारी वालीमा रुपान्तरण गरि चिनाउने कृषकहरुले लगातार नियमित रुपमा एकै तरकारीहरु एउटै जग्गामा रायो साग, काउली, वन्दा खेती गर्ने कृषकहरुलाई क्लवरुट –जरामा गाठाँ पर्ने) रोगको प्रकोप वढदै गएको । 
    प्लाष्टिक टनेल निर्माण गरि मैषमी तथा वेमैषमी तरकारी खेतिका कृषकहरुको आकर्षण वढदै गएको । 
    तरकारी वालीमा विषादीको प्रयोग वढदै गएकाले अर्गानिक तरकारी उत्पादनमा जोड दिनु पर्ने अवस्था रहेको । 
    कृषकले उत्पादन गरेको कृषि उपज सहजै खेतवारी वाट विक्री वितरण नहुनु ।  
    कृषकहरुको माग अनुसारको रसाइनिक मलको आपूर्ति हुन नसक्नु । 
    कृषि उपजहरुको कृषि वाली विमामा कृषकको आकर्षण कम हुनु, विमा नगर्नु ।  
    भैगोलिक हिसाले सवै वडाहरुमा तरकारी खेती हुने संभावना प्रचुर रहेको । 
    जग्गा वाँझो राख्नु र लिजमा दिन आनाकानी जग्गाधनीले गर्नु साथै दिएमा पनि मुल्य धेरै माग गर्नु । 
निष्कर्ष :
व्यवसायिक एवं अर्गानिक तरकारी, आलु तथा किवी उत्पादनका लागि कृषकहरुलाई निरन्तर पृष्ठपोषण, प्रोत्साहनको खाँचो छ । एकपटक व्यवसायिक खेतीमा हौसिने तर फेरी निराश भईहाल्ने प्रबृत्तीबाट कृषकलाई मुक्त गर्ने र सामान्य किसान, मध्यम किसान, व्यवसायिक किसानको रुपमा वर्गीकरण गर्दै उनीहरुलाई सोही अनुसारको प्रोत्साहन अनुदानको व्यवस्था गर्नुपर्ने देखिन्छ । 

जग्गा एकिकरण गरेर ठुलो क्षेत्रफलमा सामुहिक रुपमा व्यवसायिक कृषि उत्पादनका लागि कृषकहरुलाई आकर्षित गर्न जरुरी छ । एकिकृत तथा सामुहिक खेती गर्दा उत्पादनपनि बढ्ने त्यसको संकलन, भण्डारण, ब्राण्डिङ, लेभलिङ र प्रशोधनका साथै बजारीकरण पनि सहज हुने सरोकारवालाहरुको भनाई छ । भीमेश्वर नगरपालिका वडा नम्बर १ का अध्यक्ष माधव थामी उत्पादित कृषि बस्तुको भण्डारण गर्ने कोण्डस्टोर, संकलन केन्द्र नहुने र उत्पादित बस्तु बजारमा खपत नहुँदा प्रशोधनको बिकल्पमा जाने वातावरण बनाउनुपर्ने बताउँछन् । 

युवाहरु कृषि गर्नुभन्दा बिदेश पलायन हुने क्रम बढ्दो छ । युवा जनशक्तिलाई रोक्ने र कृषितर्फ आकर्षित गर्ने योजना र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ । भीमेश्वर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बासु श्रेष्ठ भन्छन्, ‘बिदेश जाने लहरका कारण चाहँदा चाहँदै पनि युवाशक्तिलाई व्यवसायिक कृषिमा लगाउन समस्या भएको छ ।’

एकिकृत फार्मिङ, किवी, तरकारी र आलुको संकलन तथा भण्डारणको उचित व्यवस्थापन, कृषकलाई निरन्तर पृष्ठपोषण, प्रोत्साहन अनुदान, प्राविधिक सेवाटेवा, ब्राण्डिङ, लेभलिङ, कृषि उपज प्रशोधन तथा बिक्री केन्द्र स्थापना गरी भीमेश्वर नगरपालिका व्यवसायिक कृषिमा फड्को मार्दै आत्मानिर्भर बन्ने र कृषि उपज निर्यात गरेर आर्थिक रुपान्तरण र समृद्धिमा सहयोग पुग्ने देखिन्छ । 

स्थलगत अध्ययनका क्रममा लिईएका केही तस्बिरहरु :

 


  
 
 
 
 
 
 
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update