Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सार्वजनिक ऋण २२ खर्ब नजिक, प्रतिव्यक्ति ऋणको दायित्व साँढे ७४ हजार

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा सार्वजनिक ऋण झण्डै २२ खर्ब पुगेको छ । जसमा आन्तरिक ऋणको हिस्सा बाह्य ऋण भन्दा माथि पुगेको छ । जेठसम्म कुल सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ रहँदा आन्तरिक ऋणको हिस्सा १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ रहेको छ । बाह्य ऋणको हिस्सा १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ रहेको छ । बाह्य ऋणको तुलनामा आन्तरिक ऋणको हिस्सा बढी हुँदा मुलुक ऋण लिएर ऋण कै सावाँ ब्याज भुक्तानी गर्नुपर्ने अवस्थामा पुगेको त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा डा शिवराज अधिकारीले बताए । 

११ महिनामा प्रतिव्यक्ति ऋण साढे ५ हजारले वृद्धि
चालु आर्थिक वर्षको ११ महिनामा प्रतिव्यक्ति सार्वजनिक ऋणको दायित्व ५ हजार ४८४ रुपैयाँले वृद्धि भएको छ । सार्वजनिक ऋणमा भएको वृद्धिसँगै प्रतिव्यक्ति सार्वजनिक ऋण समेत बढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्‍क अनुसार जेठ मसान्तसम्म नेपालको सार्वजनिक ऋण यो नेपालको २०७८ सालको जनगणना अनुसारको जनसंख्यामा भाग लगाउँदा प्रतिव्यक्ति ऋणको दायित्व ७४ हजार ५१६.६६ रुपैयाँ पर्न आउँछ । असार २०७९ को तुलनामा जेठ २०८० (११ महिना) को अवधिमा सार्वजनिक ऋण दायित्व प्रतिव्यक्ति ५ हजार ४८४ रुपैयाँले बढेको हो । असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ थियो । यस अवधिसम्म प्रतिव्यक्ति ऋणको दायित्व ६९ हजार ३२ रुपैयाँ थियो ।

१ खर्ब ५९ अर्ब ९५ करोडले बढ्यो सार्वजनिक ऋण
चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा खुद सार्वजनिक ऋण १ खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । यस आवको जेठ मसान्तसम्म ३ खर्ब ६ करोड रुपैयाँ सार्वजनिक ऋण सरकारले लिएको छ । यस अवधिमा १ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ सावाँ भुक्तानी भएको छ । सोहीकारण यस अवधिमा बढेको खुद सार्वजनिक ऋण १ खर्ब ५९ अर्ब ९५ करोड रहेको छ ।

जेठसम्म सरकारले आन्तरिक ऋण २ खर्ब २० अर्ब ३८ करोड लिएर १ खर्ब ८ अर्ब ११ करोड सावाँ तिरेको छ । यस अवधिमा ७९ अर्ब ६७ करोड रुपैयाँ बाह्य ऋण लिएर ३१ अर्ब ९९ करोड रुपैयाँ सावाँ तिरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update