चरिकोट । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार कुनैपनि हालतमा सफल बनाउनुपर्ने बताएका छन् । बर्तमान सरकार असफल भए माओवादी केन्द्र नै सिद्धिने दिशातिर जाने उनले बताए । दोलखा सदरमुकाम चरिकोटमा जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सरकारको कामलाई सफल बनाउनु पार्टीको मुख्य कार्यभार रहेको र त्यसो गर्दा पार्टी निर्माणको कामलाई पनि बेवास्ता गर्न नमिल्ने बताए । ‘अहिलेको सरकार सफल भएन भने माओवादी सिद्धिन्छ, त्यसैले सरकारलाई कुनैपनि हालतमा सफल बनाउनुपर्छ, सरकार संचालनसँगै पार्टी निर्माणको कामलाई सँगसँगै लैजानुपर्छ, उनले भने ।’ जनताको विकास र समृद्धि, आर्थिक समाजिक रुपान्तरणको चाहना पुरा नभए सरकार असफल हुने उनको भनाई छ ।
पार्टी निर्माण, वाम एकता र ध्रुबिकरणसँगै कांग्रेसजस्ता दलहरुसँगको कार्यगत एकतालाई अघि बढाउने पार्टीको नीति रहेको उनले जानकारी दिए । केही दिनमै समाजवादी मोर्चा निर्माण हुने भन्दै उनले उक्त मोर्चाको उदेश्य वर्तमान सत्ता गठबन्धन कमजोर बनाउने नभएको प्रष्टिकरण दिए । गृहमन्त्री श्रेष्ठले चरिकोट स्थित रितबहादुर खड्का स्मृति प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटनसँग बिभिन्न कार्यक्रममा सहभागी भए ।