Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
खिम्तिको सबस्टेशन संचालन, दोलखासहितका जिल्लाको विद्युत आपुर्तिमा सुधार हुने

काठमाडौं । नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२-३३-११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित उक्त सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३-११ केभी, ६र८ एभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मरहरु राखिएका छन् ।

स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका तीन वटा फिडर लाइनहरु निकालिएका छन् । नेपाल विद्यूत प्राधिकरण दोलखा बितरण केन्द्रले ढल्केबर–सिन्धुली–रामेछाप हुँदै आएको लाईन न्यू खिम्तिबाट जोडिएको लामोसाँघुतर्फको लाईनमा मात्र निर्भर हुनुपर्ने बाध्यता हटेकाले विद्युत आपुर्तिमा सुधार हुने जनाएको छ । 

रामेछाप (गर्ज्याङ) –नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको  हो । ३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइने छ । उक्त सहकारी दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२०-१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन निर्माण गरेको थियो । तर, सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि कुनै व्यवस्था नभएपछि नेपाल विद्युत् प्राधिकरणले १३२-३३-११ केभीको सबस्टेसन पूर्वाधार बनाएको हो ।

१३२-३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्ति दिन सुरु भएको छ । नयाँ खिम्ती सबस्टेसनमा माथिल्लो तामाकोशीसहित खिम्ती र लिखू नदी करिडोरका जलविद्युत् आयोजनाहरुको विद्युत् जोडिएको छ ।

ती आयोजनाहरुबाट नयाँ खिम्ती सबस्टेसनमा प्रवाह भएको विद्युत्लाई १३२-३३र केभी सबस्टेसनमार्फत ३३ तथा ११ केभीमा झारेर स्थानीय रुपमा आपूर्ति गरिएको छ । बाँकी विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्कबर र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सबस्टेसनतर्फ प्रवाह गरिएको छ ।

१३२-३३-११ केभी सबस्टेसन सञ्चालनमा आएपछि रामेछाप र दोलखाको केही भागमा त्यहींबाट विद्युत् आपूर्ति दिइएको छ । रामेछाप जिल्लाको पूरै क्षेत्रमा र दोलखाको जिरी नगरपालिका, वैतेश्वर तथा तामाकोशी गाउँपालिका अन्तर्गतका क्षेत्रमा नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको छ ।

दोलखाको ती क्षेत्रमा अहिले लामासाँघू सबस्टेसबाट विद्युत् आपूर्ति हुँदै आएको थियो । साथै, सिन्धुलीको सुनकोशी, फिकल र गोलाञ्जोर गाउँपालिकाअन्तर्गतका क्षेत्रमासमेत नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइने छ ।

नयाँ खिम्ती सबस्टेसनबाट आपूर्ति दिन सुरु भएपछि रामेछापलगायतका जिल्लाहरुको विद्युत् पर्याप्त, भरपर्दो र गुणस्तरीय भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

ढल्केबरबाट मन्थलीसम्मको ३३ केभी प्रसारण लाइनको लम्बाइ करिब ८० किलोमिटर छ । लामो तथा जंगलैजंगलबाट आएको लाइनका कारण रामेछाप र सिन्धुलीका उपभोक्ताहरुले ट्रिपिङ, न्यून भोल्टेजलगायतका समस्या व्यहोर्दै आएका थिए । अहिले नयाँ खिम्तीबाट विद्युत् आपूर्ति दिन थालेपछि लाइनको लम्बाइ घट्दा त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, लाइन मर्मतसम्भारमा सजिलो हुने विस्वास गरिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानीमा निर्माण भएको सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update