काठमाडौँ — कतारमा महोत्तरी औराही–१, का अनिल चौधरीलाई मृत्युदण्ड दिईएको छ । कतारमा पहिलो पटक नेपाली नागरिकलाई गोली हानी मृत्युदण्ड दिइएको हो । चौधरीमाथि कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको अभियोगमा त्यहाँको अदालतले दोषी ठहर गरेको थियो ।
तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको जनाईएको छ । उनलाई मृत्युदण्ड दिनुअघि पीडित परिवारलाई माफीका लागि आग्रह गरिएको थियो । तर पीडित परिवारले अस्वीकार गर्यो ।
मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिएको थियो । लगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो । चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ ।