Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपाल भित्रियो मनसुन, कोशी, वग्मती र गण्डकीमा वर्षात् सुरु

काठमाडौँ । नेपालमा एक दिन ढिला गरेर मनसुन भित्रिएको छ । नेपालमा सरदर जुन १३ मा भित्रिँदै आएकोमा यो वर्ष केही ढिला मनसुन् प्रवेश गरेको हो । बुधबार पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभाव मधेस प्रदेशको पूर्वी भागमा देखिएको जनाएको छ । 

बुधबार साँझ ६ बजेसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशको लमजुङमा रहेको कुन्छास्थित वर्षा मापन केन्द्रमा भएको छ । त्यहाँ १०६.२ मिलिमिटर (एमएम) वर्षा मापन भएको पूर्वानुमान महाशखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । त्यसपछि सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा मापन गरिएको छ । दामनस्थित मापन केन्द्रमा ९२ एमएम वर्षा मापन भएको छ । मकवानपुरकै चिसापानीगढीमा ८५.६ एमएम वर्षा मापन भएको झाले जानकारी दिए ।

पूर्वानुमान महाशाखाले एक दिन ढिला गरेर भित्रिएको मनसुनलाई सामान्य रूपमा लिएको छ । नेपालमा जुन १३ देखि अक्टोबर २ लाई मनसुनको समय भनेर विभागले परिभाषित गरेको छ । यसैबीच, मनसुनी प्रणाली पश्चिम नेपालसम्म पुग्न अझ केही दिन लाग्ने भएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update