चरिकोट । दोलखाको विगु गाउँपालिका–३ शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सोमबार कक्षा बहिस्कार गर्दै नाराबाजीसहित विद्यालयमा विरोध प्रर्दशन गरेका थिए ।
विषयगत शिक्षक अभावमा पठनपाठन नभएका कारण आन्दोलनमा उत्रिनु परेको विद्यार्थीहरुको भनाई छ । स्थानीयका अनुसार उक्त विद्यालयमा गत वर्ष फागुनदेखि नै दरबन्दी अनुसारका ४ जना शिक्षक नभएपछि पठनपाठन प्रभावित बनेको छ । शिक्षा सेवा आयोगबाट स्थायी दरबन्दीमा नाम निकालेर आएका शिक्षक आउने भएपछि राहत कोटाका शिक्षकले उक्त विद्यालयबाट राजीनामा दिएका थिए ।
प्रधानाध्यापक बालकृष्ण मल्ल ठकुरीले स्थायी दरबन्दीसमेत कोटा नपरेपछि पठनपाठ प्रभावित बनेको स्वीकार गरे । राजनीतिक आधारमा विद्यालयका प्रधानाध्यापक परिवर्तन गरेर मात्रै शिक्षक भर्ना गर्ने विद्यालय व्यवस्थापन र पालिकाको शिक्षा शाखाको अडानका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको उनको भनाई छ ।
विगु गाउँपालिका शिक्षा शाखाले भने विद्यालयमा रिक्त रहेको दरबन्दी माग गर्न विद्यालय व्यवस्थापन र प्रशासन नआएका कारण विज्ञापन खुलाउन कठिनाइ भएको जनाएको छ ।