सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका तीन जना अझै फेला पर्न सकेका छैनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृतको खोजीमा गोताखोर टोली परिचालन गरिएको छ ।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा उनीहरु बेपत्ता भएका थिए ।
जिप नदीमा खस्दा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पौडिएर निस्किएका चालक कृष्ण चौधरीको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ । बेपत्ताहरूको खोजीमा शनिबार बिहानैदेखि टोली परिचालन गरिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।