काठमाडौं । राष्टिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली खरिद रोकिएकोबारे सरकारले भारतको ध्यानाकर्षण गराउने भएको छ । माथिल्लो तामाकोशी आयोजनाको बिजुली भारतको प्रतिस्पर्धात्मक बजारमा निर्यात गर्ने प्रस्ताव भारतले स्वीकृत नगरेपछि अलपत्र छ ।
सो बारे नेपालले भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा हुने द्विपक्षीय बैठकहरुमा उक्त विषय उठाउने तयारी छ । प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीसँगको वान–टू–वान वार्तामै यो विषय उठाउनसक्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपालले माथिल्लो तामाकोशीको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज बजारमार्फत प्रतिस्पर्धी दरमा निर्यातका लागि अनुमति मागेको झण्डै २ वर्षभन्दा बढी भइसकेको छ । तर, भारतले आयोजना निर्माणमा चिनियाँ कम्पनी सहभागी भएको देखाएर तामाकोशीको बिजुलीलाई निर्यात अनुमति दिएको छैन ।