काठमाण्डौं । पुर्वमन्त्री एवं एमाले पोलिट व्यूरो सदस्य पार्वत गुरुङले शनिवार भएको सामान्य घट्नाको विषयलाई लिएर दुष्प्रचार गरिएको भन्दै त्यसको खण्डन गरेका छन् । आईतवार दोलखाबाट काठमाण्डौं आउने क्रममा गुरुङले सर्वसाधरणमाथि कुटपिट गरेको भन्दै केही संचारमाध्यममा समाचार आएपछि गुरुङले गलत समाचार सम्प्रेषण गरिएकोले भ्रममा नपर्न आग्रह गरेका हुन् ।
आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पुर्वमन्त्री गुरुङले युवकको गाडीले सुकुटेदेखि पिछा गर्दै आएको र काभ्रेको खावाडाँडामा पुगेपछि बाटो छेकी अभद्र व्यवहार गरेपछि ओर्लेर आफुले प्रहरीसामु सम्झाउन खोजेको प्रष्ट पारेका छन् । तर सोही विषयलाई लिएर कुटपिट र हातपात भएको भनी एकपक्षिय ढंगले विषयलाई अतिरञ्जित गराईएको उनले उल्लेख गरेका छन् ।
‘काभ्रेको खावाडाँडामा आईपुग्दा समेत मेरो गाडीलार्ई अबरोध गरियो । ओर्लेर प्रहरीसामु उनलाई सम्झाउन खोज्दा कुटपिट र हातपात भएको नी एकपक्षीय ढंगले अतिरञ्जित गराईएकोमा दुख लागेको छ, गुरुङले उल्लेख गरेका छन् ।’ बुबा ललितपुर स्थित सुमेरु अस्पतालमा सिकिस्तै भएकाले चाँडै काठमाण्डौं आईपुग्नुपर्ने भएकोले आकस्मिक बत्ती बालेर हिड्नुपर्ने बाध्यता रहेको पनि उनले प्रष्ट पारेका छन् ।
उनले यही विषयसँग जोडेर २०७४ सालको स्थानीय तहको चुनावमा भएको कुलबहादुर तामाङ हत्याकाण्डको वास्तविकता अन्यत्र मोड्न खोजिएको भन्दै आपत्ती समेत जनाएका छन् ।
घट्नाबारे यस्तो छ गुरुङको धारणा :
दोलखाबाट हिजो म काठमाडौं आउने क्रममा एक युवकले मसँग गरेको व्यवहारलाई लिएर छरिएको भ्रमप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो बुबा ललितपुर स्थित सुमेरु अस्पतालमा सिकिस्तै भएकाले म मेरो निजी गाडीमा काठमाडौं आइरहेकै बेला ती युवकले चलाएको गाडीले मलाई सुकुटेदेखि पिछा गर्दै आएको रहेछ । काभ्रेको तिनपिप्ले आईपुग्दा बाटो छेकी अभद्र व्यवहार गर्यो । चाँडै काठमाडौं आइपुग्न आकस्मिक बत्ती बालेर हिड्नुपर्ने बाध्यात्मक अवस्था थियो । हाम्रै गल्ती हो की भनेर बुझे तर होईन रहेछ । काभ्रेको खावाडाँडामा आइपुग्दा समेत मेरो गाडीलाई अबरोध गरियो । ओर्लेर प्रहरी सामू उनलाई सम्झाउन खोज्दा कुटपीट र हातपात भएको भनी एकपक्षीय ढंगले अतिरञ्जित गराइएकोमा दुःख लागेको छ । साथै यो घट्नासँगै ७४ सालको स्थानीय तहको चुनावमा भएको कुलबहादुर तामाङ हत्याकाण्डको वास्तविकतालाई लुकाएर अन्यत्र मोड्न खोजेकोमा मेरो गम्भीर आपत्ति छ ।बरु त्यतिबेला वास्तवमा के भएको थियो ? कसले घट्ना घटाएको थियो भनी सत्य तथ्य खोज्न म सम्बद्ध पक्षलाई आग्रह गर्न चाहन्छु । दुई लाइन बनावटी समाचार लेखाएर एकछिनको न्यानो लिने मित्रहरुलाई यहाँ भन्दा म के भनू।