हेटौंडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको आईतवार बसेको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा केही पुराना र नयाँ कार्यक्रमलाई समेटिएको छ ।
सरकारले दीगो विकासको अवधारणा अनुसार योजना निर्धारण गर्ने, सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने तथा आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने घोषणा गरेको छ । ‘प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा प्रदेशको सन्तुलित विकासका लागि ठूला आयोजना छनोट गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । वाग्मती सरकारले पुँजी निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि रोजगारीका अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने नीति लिने भएको छ ।
यस्तै योजना तथा कार्यक्रमको यूनतम लागत निर्धारण गरी सोभन्दा कमका आयोजनाहरु स्थानीय तहमा पठाइने नीति सरकारले अबलम्बन गर्ने भएको छ । पुँजी निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि रोजगारीका अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने पनि घोषणा गरिएको छ ।