चरिकोट । दोलखामा क्रियाशिल नागरिक समाज सम्बद्ध संघ/संस्थाहरुले भ्रष्टाचारजन्य सबै घट्नाहरुको छानविन गर्न दबाब दिएका छन् । जिल्ला स्थित नागरिक समाजका प्रतिनिधिहरुले बिभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घट्नाहरुको निष्पक्ष र पारदर्शी छानविनका साथै दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन–पत्र बुझाउँदै उनीहरुले मुलुकमा बढ्दो भ्रष्टाचारजन्य अपराध नियन्त्रण गर्न र सुशासनको प्रत्याभुति दिलाउन आग्रह गरेका हुन् । ‘जनसमुदायमा व्यवस्था र राजनीतिक दलहरुप्रति विस्वास र भरोसा सिर्जना गर्नका ागि विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घट्नाहरुको निष्पक्ष र पारदर्शी ढंगले छानविन गर्न, दोषीलाई कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्यमान कुनैपनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न सरकार समक्ष जोडदार माग गर्दछौँ, ज्ञापनपत्रमा भनिएको छ ।
मानवअधिकार एलायन्स, नागरिक समाज दोलखामा आवद्ध संघ संस्था र नेपाल वार एसोसियसनका तर्फबाट प्रजिअ मार्फत प्रधानमन्त्रीलाई बिहिवार ज्ञापनपत्र बुझाईएको हो । ज्ञापन पत्र बुझाउन मानव अधिकार एलाईन्सका केन्द्रीय उपमहासचिव होम पाठक, नागरिक समाज दोलखाका संयोजक चिरन्जीवि मास्के, नेपाल बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, अनौपचारिक सेवा केन्द्र ईन्सेकका उद्धव पोखरेल, मानव अधिकार एलाईन्स दोलखाका मेनुका सुवेदी, हुराडेकका सुन्दर लामिछाने, असल शासन समन्वय समितिका दिल बहादुर केसी लगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
त्यसअघि सोही विषयलाई लिएर बास दोलखा, जेसिज दोलखाका तर्फबाट अर्जुन दाहाल लगायतको टोलीले पनि ज्ञापन पत्र बुझाएको थियो ।