काठमाडौँ । दोलखा लगायत जिल्लाका युवाहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पवन राणा, उज्ज्वल खड्का र सीताराम बास्तोला रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार काठमाडौं महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणा, भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका ४४ वर्षीय उज्ज्वल खड्का र भक्तपुर चाँगुनारायण नगरपालिका–६ तेलकोटका ६८ वर्षीय सीताराम बाँस्तोलालाई फरक मिति र स्थानबाट पक्राउ गरिएको हो ।
उनीहरूलाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभाग पठाएको जनाएको छ ।उक्त गिरोहले दोलखा कालिञ्चोक गाउँपालिका–८ सुनखानीका कुमार खड्का लगायतका युवाहरुलाई जर्मन, अमेरिका, बेलायत, जापान पठाउने प्रलोभन देखाएर ठगी गरेका थिए । कोटेश्वरस्थित जुत्तारचप्पल पसल सञ्चालन गरेर बस्ने कुमारलाई राणा, उज्ज्वल खड्का र सीताराम बाँस्तोलालगायतले जर्मनीस्थित पिज्जा हाउसका लागि नेपाली कामदारको लागि खोजी भएको बताएका थिए ।
पछिल्लो समय आर्थिक संकट झेल्दै आएको पसलबाट खासै सन्तुष्ट हुन नसकेका खड्का जुत्तारचप्पल पसल बेचेरै जर्मनी जान राजी भए । उनले ८ लाख ६८ हजार रुपैयाँ राणालाई बुझाएका थिए । उनले आफ्ना भाइ सुजन खड्का, आफन्तहरू तीर्थबहादुर सेढाईं, अर्जुन थापा, पर्शुराम विष्ट, पवन राणा, उज्ज्वल खड्का, सीताराम बाँस्तोलासँग चिनजान गराए । त्यतिमात्र होइन खड्काले उनीहरूलाई वैदेशिक रोजगारका लागि अमेरिका, जापान, जर्मनी, बेलायत जान पैसा बुझाउन प्रेरित गरे । उनीहरूले पनि ४ लाख रुपैयाँदेखि १७ लाख ५० हजार रुपैयाँसम्म प्रतिव्यक्ति पैसा बुझाए ।
रकम बुझिसकेपछि पवन राणा, उज्ज्वल थापा र सीताराम बाँस्तोला सम्पर्कविहीन भए । राणा, खड्का र बाँस्तोलाको समूहले अमेरिका, जर्मनी, बेलायत, जापानलगायत मुलुक पुर्याएर राम्रो कमाइको प्रलोभनमा पारेर १ सयभन्दा बढी युवामार्फत ३ करोड ५६ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय दैनिक २ देखि ४ व्यक्तिलाई वैदेशिक रोजगार ठगी प्रकरणमा पक्राउ गर्दै कारबाहीका लागि विभागलाई बुझाउँदै आएको छ । राजनीतिक अस्थिरता, व्यवसायप्रतिको निराशा, बढ्दो बेरोजगारीका कारण बाध्यतामा युवा सामान्य चिनजान तथा व्यक्तिको विश्वासमा परेर वैदेशिक रोजगारको प्रक्रियामा होमिँदा ठगिने गरेको पाइएको प्रहरी अनुसन्धान अधिकृत बताउँछन् ।
चालु आर्थिक वर्ष २०७९/८० मा मात्रै वैदेशिक रोजगारअन्तर्गत ठगीमा वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १६६ वटा पक्राउ पुर्जी पठाएको छ । जसमध्ये, ६६ जना पक्राउ परेका छन् ।