सिंगटी - गौरीशंकर संरक्षण क्षेत्र आयोजना अन्तर्गत दोलखाको विगु गाँउपालिका ५ बाट रतुवा मृगको उद्धार गरिएको छ । विगु गाउँपालिका ५, लाईसेप भन्ने स्थानबाट बुधवार रतुवा मृगको उद्दार गरिएको हो । स्थानीय खिम बहादुर खड्काले गाईवस्तु चराउन जाने क्रममा फेला पारेको रतुवा मृगको पाठोलाई उद्धार गरी गौरीशंकर संरक्षण क्षेत्रमा खबर गरेका थिए ।
खड्काले फेला पारेको मृगलाई बुधवार अनौपचारिक कार्यक्रमकाबीच गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहलाई हस्तान्तरण गरे । कार्यक्रममा उद्धारकर्ता खड्काले मृग, दुम्सि, बादर लगायतका वन्यजन्तुले कृषकहरुको बालीनाली क्षति गरिरहेको भन्दै गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले मानव वन्यजन्तु द्वन्दको समाधान गर्नुपर्ने बताए ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख शाहले बालीनाली क्षति गरिरहेको अवस्थामा पनि वन्यजन्तुको उद्दार गरेकोमा प्रशंसा गरे । शाहले मानव वन्यजन्तु द्वन्द भई पुगेको क्षेतिको आयोजनाले राहत उपलव्ध गराईरहेको जानकारी पनि दिए । उद्दार गरिएको मृगको पाठोलाई पालनपोषन गरि फेरी प्रकृतिक वासस्थानमा छोडिने गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।