काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडिङ (एनजी) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए पुनः अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक अवस्था थियो । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेर ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने नियम लागू गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए ।
उनका अनुसार अब दुई विषयसम्म मात्र एनजी भए तुरुन्तै ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । यो व्यवस्था मंगलबारबाट सुरु कक्षा १२ को परीक्षामा समेत लागू गरिएको बोर्डले जनाएको छ । गत वर्ष एनजी प्राप्त विद्यार्थीले यसपालि सबै विषयको परीक्षाका लागि आवेदन दिए पनि जुन विषयमा एनजी आएको हो सो विषयमा मात्र परीक्षा दिए हुन्छ ।
बोर्डका अनुसार करिब ५६ हजार विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिँदै छन् । सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्थाका कारण विद्यार्थीले कक्षा छाड्ने दर बढेकाले अघिल्लो बिहीबार निर्देशिका संशोधन गरिएको हो ।