Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विगु गाउँपालिकाको आलम्पुमा सम्पन्न स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित

चरिकोट । दोलखाको विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुमा सम्पन्न स्वास्थ्य शिशिरबाट एक हजार भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । यही वैशाख ९ देखि १२ गते (चार दिन) सम्म चलेको शिविरबाट १०४४ जनाले स्वास्थ्य सेवा लिएका हुन् । जसमा ४१४ पुरुष र ६३० महिला रहेका छन् ।

काजुरी संस्था पोखराको आयोजना र विगु गाउँपालिकाको समन्वयमा सम्पन्न शिविरबाट आलम्पु, चिलंखा, विगु, खोपाचागु लगायत स्थानका सर्वसाधरणले सेवा लिएका छन् । विगु गाउँपालिकाका स्वास्थ्य ईन्चार्ज रत्न थामीका अनुसार ६२३ जना आँखा र ३२७ जना दाँतको बिरामीले उपचार सेवा पाएका छन् । शिविरमा ३४ जनाको आँखाको अप्रेसन गरिएको छ ।  

उक्त शिविर संचालनका लागि काजुरी संस्थाका अध्यक्ष राजन राई नेतृत्वको टोली आलम्पु पुगेको थियो । शिविरको समापन समारोहमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक प्रतिनिधि लगायतले आयोजक संस्थालाई धन्यवाद दिए । 

यसैगरी सोही संस्थाले विगु गाउँपालिकामा बिभिन्न सिपमुलक तालिम समेत संचालन गर्ने भएको छ । तालिममा सहभागी हुन ४० जनाले आवेदन दिएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update