चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकाले जथाभाबी विद्यालयहरुको कक्षा कटौती र समायोजन गरेको भन्दै स्थानीय स्तरमा बिरोध सुरु भएको छ । गाउँपालिकाले मापदण्ड पुगेका विद्यालयहरुको कक्षा समेत कटौती गरिदिएपछि बिरोध सुरु भएको हो । गाउँपालिकाले हालै एक दर्जन बढी विद्यालयहरुको कक्षा कटौती गर्ने निर्णय गरेको थियो ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ स्थित देउराली प्राथमिक विद्यालयलाई ३ कक्षामा घटुवा गरिएपछि स्थानीयले वडा कार्यालयमा धर्ना र नारावाजी गर्दै निर्णय फिर्ता लिन अल्टिमेटम दिएका छन् । उनीहरुले गाउँपालिकाको निर्णय विद्यार्थीको हित र मापदण्ड बिपरित भएको भन्दै सच्याउन आग्रह गरेका छन् । अभिभावकहरुको भेलाले निर्णय नसच्चिएसम्म वडा कार्यालयमा तालाबन्दी गर्ने निर्णय समेत गरेको स्थानीय सविन थामीले जानकारी दिए ।
उक्त विद्यालयमा १३० जना भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । गाउँपालिकाले आवश्यकता र मापदण्ड उल्लंघन गर्दै पिछडिएको थामी बस्तीमा रहेको विद्यालयको सन्दर्भमा गलत मनसाय र राजनीतिक पुर्वाग्रहका आधारमा अनुचित निर्णय गरेको स्थानीयको आरोप छ ।
‘देउराली स्कुलमा मापदण्डले तोकेको भन्दा विद्यार्थीको संख्या धेरै बढी छ, पुर्व वडा अध्यक्ष सुवास थामीले भने, ‘बदनियत राखेर विद्यालय बन्द गर्न खोजिएको छ, यो निर्णय विद्यार्थीको भविष्यमाथि खेलवाड हो ।’
गाउँपालिकाले हालै देउराली सहित १४ वटा विद्यालयको कक्षा कटौती गर्ने निर्णय गरेको थियो । अन्य केही विद्यालयमा पनि विद्यार्थीको चाप हुँदाहुँदै कक्षा कटौती गरिएपछि स्थानीयले बिरोध गरेका छन् । गाउँपालिकाले भने विद्यार्थी संख्या, शिक्षक संख्या र नजिकका अन्य विद्यालयहरुको दुरीलाई मध्येनजर गर्दै कक्षा कटौतीको निर्णय गरिएको दाबी गरेको छ ।