चितवन । रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेको छ । क्षमायाचना गरेपछि चितवनको निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्थगित भएको मतदान सुरु भएको छ । रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गर्दै भीडभाड गरेपछि मतदान अवरुद्ध भएको थियो । नयाँ किरण मावि भोजाड केन्द्रमा रहेको मतदान स्थलमा दुई घण्टाभन्दा बढी समय मतदान स्थगित भएको थियो ।
निर्वाचन आयोगको पहलमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच चार बुँदे समझदारी भएसँगै मतदान पुनः सुरु भएको हो । जसको पहिलो बुँदामा भनिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।
रास्वपाका प्रतिनिधिले क्षमायाचना गरेपछि मतदान पुनः सुरु भएको बताइएको छ । त्यस्तै, मतदान स्थलको ३ सय मिटर वरपर सुरक्षा कायम गर्ने निर्णय पनि भएको छ । आचारसंहिता उल्लंघन गरेको विषयमा मुख्य निर्वाचन कार्यालयलाई लेखी पठाउने निर्णय पनि गरिएको छ ।
साथै ३ सय मिटर वरपर शान्ति सुरक्षा कायम गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । यसैबीच कृष्णपुर माविमा केही बेरसम्म अवरुद्ध भएको मतदान पनि पुनस् संचालनमा आएको छ ।