चरिकोट । दोलखामा नयाँ प्रकृतिका अपराधका घट्ना बढ्न थालेका छन् । जिल्लामा खसीबोका किन्ने बहानामा गरगहना लुटपाट गर्नेदेखि किसानले पालेका बाख्रा मार्ने सम्मका घट्ना भएका हुन् । रासायनिक मल मिसाईएको पानी पिउँदा बैतेश्वर गाउँपालिका–४ का ६६ बर्षिय कृषक ढालबहादुर दाहालले पालेको एउटा खसी र २ वटा बाख्रा मरेका हुन् ।
अन्य केही बाख्रा बिरामी छन् । घरमा कोही नभएको मौकामा बाख्राको लागि जम्मा गरिराखेको पानीमा अज्ञात व्यक्ति वा समूहले मल मिसाईदिएको र मल घोलिएको पानी पिउँदा माख्रा मारेको स्थानीयले जानकारी दिएका छन् । ढालबहादुरका छोरा गोविन्द दाहालले नियत राखेर जानीजानी पानीमा मल घोलेर बाख्रा मारिएको बताए ।
स्थानीयका अनुसार बाख्रा मरेको स्थानमा बारीमा हाल्ने रासायनिक मल भेटिएको छ । पानीमा विष मिसाउने व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन । घट्नास्थल पुगेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । केही समय अघि भीमेश्वर नगरपालिका वडा नम्बर ९ मा खसीबोका किन्ने वहानामा गाउँ छिरेका युवाहरुले स्थानीय एक बृद्धको नगद, गरगहना लुटपाट गरेका थिए ।