Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गठबन्धनको चुनावी प्रचारमा राज्यशक्तिको दुरुपयोग

काठमाडौं । यही वैशाख १० गते सम्पन्न हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको राज्यशक्तिको दुरुपयोग गरेको पाईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपनिर्वाचन हुने चितवन, तनहुँ र वाराका तीनवटै निर्वाचन क्षेत्र पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय छन् ।

प्रधानमन्त्री प्रचण्डसहित पुर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरु चुनावी दौडाहमा छन् । वर्तमान सत्तागठवन्धनका चार शीर्ष नेताहरु काठमाडौंबाट सेनाको हेलिकोप्टरमा चढेर हिजो गोर्खा गएका थिए । गोर्खाबाट हिजै तनहुँ पुगेका हुन् ।

तनहुँको क्षेत्र नम्बर १ मा चारैजना नेताहरुले एउटै सभामा भाषण गरेर गठबन्धनका उम्मेदवारलाई जिताउन अपील गरेका छन् । प्रचण्ड र तीन प्रधानमन्त्रीहरुले  बारा र चितवनमा आयोजित संयुक्त आमसभालाई पनि सम्बोधन गरेका छन् । प्रचण्ड तीन पूर्वप्रधानमन्त्रीहरुलाई लिएर सेनाको हेलिकोप्टरमा तनहुँबाट बारा पुगेका हुन् । बाराबाट पनि हेलिकोप्टर नै चढेर उनीहरु चितवन पुगेका हुन् ।

निर्वाचन आचारसंहिता २०७९ मा गरिएको व्यवस्था अनुसार चुनावी प्रचारप्रसारमा यसरी सेनाको हेलिकोप्टर प्रयोग गर्नु राज्यस्रोतको दुरुपयोग हो । निर्वाचन आचार संहिता अनुसार पनि सरकारी खर्चमा हेलिकोप्टर चढेर चुनाव प्रचारमा हिँड्न मिल्दैन ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update