काठमाडौँ । कोभिडविरुद्धको खोप सिनोभ्याक–कोरोनाभ्याक प्रयोगमा नआई खेर जाने अवस्थामा पुगेको छ । चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा भित्रिएको ५ लाख गरी ४० लाख डोज खोप प्रयोगमा नआएको हो । उक्त खोप विशेष विमान पठाएर नेपाल ल्याईएको थियो ।
खोप आइपुगेको एक वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । अब ८ महिनापछि यसको म्याद सकिँदै छ । खोपको ‘एक्सपायरी डेट’ दुई वर्ष रहेको छ । यो खोपले अस्पताल भर्ना दर ६४.६ प्रतिशत घटाउने र गम्भीर बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी हुने भनिएको थियो । यो १८ वर्षमाथिका नागरिकमा मात्र लगाउन मिल्ने खोप हो ।
अधिकांशले बुस्टरका रूपमा प्रयोग गर्न नमिल्ने र पहिलो डोज लगाउन बाँकी जनसंख्या नरहेकाले खोप स्टकमै थन्किएको स्वास्थ्य अधिकारीहरुको भनाई छ । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले सुरुमा खोपको एकदमै अभाव र बढ्दो संक्रमणका बीच चीनबाट अनुदान पाएपछि यो खोप आएको बताए ।
स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको बुस्टर डोज (चौथो मात्रा) का रूपमा कोभ्याक्स सुविधामार्फत ३० लाख डोज फाइजर ‘बाइभ्यालेन्ट’ खोप ल्याइसकेको छ । नेपालमा हालसम्म अनुदान र खरिद गरी ६ करोड ६२ लाख ८० हजार ५५० डोज खोप भित्रिइसकेको छ ।
स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार ४० लाख सिनोभ्याक आएकामा हालसम्म एक मात्रा पनि लगाइएको छैन । खोप टेकुस्थित भण्डारणमा थन्किएको छ ।