काठमाडौँ । प्रमुख दलका शिर्ष नेताहरुबीच प्रधानन्यायधिस नियुक्ति प्रक्रिया अघि बढाउने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यस्तो समझदारी भएको हो । संवैधानिक परिषद् बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता ओली निवास बालकोटमा बसेको सोमबार बिहानको बैठकमा उक्त सहमति भएको हो । प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गरेको र संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको लामो समय भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच यो सहमति भएको हो । अब प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्ने भएको हो । लेखकका अनुसार बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको छ ।