Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी अयोग्य लडाकुलाई दुई लाख दिन बन्यो कार्यविधि

काठमाण्डौं । तत्कालीन नेकपा (माओवादी) का अयोग्य भनिएका लडाकुलाई आर्थिक सहायता दिने कार्यविधि तयार भएको छ । उनीहरुलाई जनही २ लाख रुपैयाँका दरले सहयोग गर्ने कार्यविधिलाई अन्तिम रुप दिईएको हो । कार्यविधि तयार भैसकेको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताए ।

यसअघि गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई–दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो। अनमिनले नै लडाकू होइनन् भनेर प्रमाणित गरिसकेका माओवादी कार्यकर्ताहरूलाई सरकारले राज्यकोषबाट पैसा बाँड्न लागेको भन्दै विरोध भएको थियो। 

चैत ८ गते  सत्ता गठबन्धनका नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकूहरूलाई पैसा दिने निर्णय नभएको बताएका थिए । 

सचिव सिंहले मन्त्रिपरिषद्ले रकम दिन कार्यविधि बनाउन गरेको निर्णय आएपछि आफूले त्यहीअनुसार काम गरेको बताए। कार्यविधिअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट रकम पाउनेहरूको नाम भेरिफाई गर्ने मन्त्रालयको तयारी छ । कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था छ।
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update