Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपालमा ३ महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि मृत्युको घट्ना भएको हो । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । 
सोमबार वीर अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अस्पतालका अनुसार ती महिलामा मधुमेह र फोक्सोसम्बन्धी समस्या पनि थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मंगलबार ४७६ पीसीआर र १ हजार ९६० एन्टिजेन गरी कुल २ हजार ४३६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

पीसीआरतर्फ ७४ र एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । हाल संस्थागत आइसोलेसनमा २४ जना, आईसीयूमा १३ जना र भेन्टिलेटरमा ५ जना रहेका छन् ।

यसअघि सोमबार १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update