चौतारा । नेपाल–चीन जोड्ने उत्तरी नाका तातोपानी सुनसान बनेको छ । उक्त नाका मंगलबारबाट एक सातासम्मका लागि बन्द गरिएपछि तातोपानी ठप्प भएको हो । भूकम्पको चार वर्षपछि मालवाहक रुपमा सञ्चालनमा ल्याइएको तातोपानी नाकाबाट कन्टेनर आउजाउसमेत रोकिएपछि नाका झनै सुनसान बनेको छ ।
यसअघि चीनमा भौतिक पूर्वाधार र अन्यको काम भइरहेको भन्दै १० दिन बन्द गर्ने खबर आएको थियो । तर त्यो लागु नगरी चिनियाँ पक्षले नाका बन्द गरिदिएको हो । चिनियाँ सुरक्षा अधिकारीले भौतिक पूर्वाधारबारे काम गरिरहेको जानकारी दिँदै सातादिनका लागि तातोपानी ठप्प पारेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।
चीनतर्फ धमाधम काम भइरहँदा नेपालतर्फ खासै पुनर्निर्माणका काम भएका देखिँदैन । चिनियाँ प्राविधिक ल्युका अनुसार चीनको खासा, न्यालम क्षेत्रमा अत्याधुनिक भवन, सडक अन्य संरचना निर्माणको काम लगभग अन्तिम चरणमा छ ।
उत्तरतर्फको दोस्रो ठूलो भन्सारका रूपमा चिनिने तातोपानी नाका वैशाख १८ गतेबाट खुल्ने खबरले जिल्लावासी उत्साहित भए पनि भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाका झाङ्मु अर्थात् तातोपानी क्षेत्रमा कुनै तयारी छैन ।
१५ चैतमा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रूपमा सञ्चालनमा ल्याउने सहमति भएको थियो । तातोपानी नाका ठप्प हुँदा मुलुकले ठुलो धनराशीको राजस्व गुमाईरहेको छ ।