Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माथिल्लो तामाकोशीको विद्युत निर्यात प्रस्ताव भारतले अझै स्वीकृत गरेन

काठमाडौँ । बिजुली निर्यात गर्न नेपालले पठाएको माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाको प्रस्ताव भारतको अझै स्वीकृत गरेको छैन । नेपालले माथिल्लो तामाकोशी आयोजनाको विद्यूत भारतिय बजारमा बिक्रीका लागि गत फागुनमा भएको ऊर्जा सम्मेलनअघि नै प्रस्ताव पठाएको थियो । 

प्राधिकरणले प्रसारण लाइनको चुहावट कटाएर माथिल्लो तामाकोशी आयोजनाको विद्युत भारतिय बजारमा बिक्री गर्ने प्रस्ताव पठाएको थियो । तामाकोशी सहित २९.१ मेगावाटको चमेलिया, ४३.६५ मेगावाटको माथिल्लो भोटेकोशी, २३.४७ मेगावाटको लिखु ए, ४०.७४ मेगावाटको मिस्त्रीखोला, ९.७ मेगावाटको तल्लो मोदी–१, २१.३४ मेगावाटको माइखोला, १४.४५ मेगावाटको हेवाखोला ए, २१.४४ मेगावाटको तल्लो हेवा र ३४.९२ मेगावाटको माथिल्लो बलेफी ए आयोजनाको विद्यूत पनि बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर ती प्रस्ताव अझै स्वीकृत नभएको विद्युत प्राधिकरणका अधिकारीहरुले जनाएका छन् । 

भारतले माथिल्लो तामाकोशी, माथिल्लो भोटेकोशीलगायत केही आयोजनामा अघोषित रूपमा प्रस्ताव अड्काएको छ । यसअघि गरिएको पटकपटकको प्रयासमा पनि भारतले प्राधिकरणको ठूलो आयोजना माथिल्लो तामाकोशीको बिजुली लिन मानेको छैन ।

अन्तरदेशीय विद्युत् व्यापार गर्दा उत्पादन तथा प्रसारणका आयोजनामा तेस्रो मुलुकको लगानी भए त्यस्ता आयोजनाबाट बिजुली नकिन्ने भारतको नीति छ । उसको यही नीतिका कारण माथिल्लो तामाकोशी, माथिल्लो भोटेकोशी र मस्र्याङ्दीको बिजुली बेच्न नेपालको पटकपटकको प्रयास सफल हुन सकेको छैन । ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनालाई बिनाकारण प्रस्ताव अड्काएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update