Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रास्वपाका निलम्वित सांसदमाथि अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडियो संवाद सार्बजनिक भएपछि श्रेष्ठमाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

स्वास्थ्यमन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम जोहो गरिदिन प्रसाईंलाई आग्रह गरेको अडियो सार्वजनिक भएको थियो । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक प्रसाईंको कलेजको सम्बन्धनको प्रक्रिया रोकिएको छ, त्यस्तै उनको अस्पतालले उपचार बिमामार्फत दाबी गरेको १४ करोड रुपैयाँमा प्रश्न उठेकाले भुक्तानी भएको छैन ।

प्रसाईंका काम गराइदिने र मिलेर देश बनाउने भन्दै सांसद श्रेष्ठले घूस मागेको अडियो आइतबार कपूरबोट टीभीले सार्वजनिक गरेको थियो । यो अडियोबारे सार्वजनिक बहस सुरु भएसँगै अख्तियारले अनुसन्धान थालेको हो ।

घूस संवादबारे अख्तियारका पदाधिकारीबीच सोमबार छलफल भएको थियो । त्यसक्रममा पदाधिकारीले मिहिन अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए । घूस प्रकरणबारे सञ्चारमाध्यममा आएका समाचारलाई नै प्रमाण मानेर अनुसन्धान अघि बढाउने अख्तियारको निष्कर्ष छ । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update