Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोनाका कारण नेपालमा पहिलो मृत्यु, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टि

काठमाडौँ — धुलिखेल अस्पतालमा सुत्केरी महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
१० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएर आमाछोरा दुबैको स्वास्थ्य सामान्य देखिएपछि उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।
तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको हो ।

यो रिर्पोटसँगै ती महिला नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुने पहिलो नेपाली भएकी छन् । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।
अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो ।

स्रोतका अनुसार २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माउनको लागि भर्ना भएकी थिइन् । उनले २४ गते बच्चालाई जन्म दिएकी थिइन् । शिक्षण अस्पतालबाट २५ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको थियो ।
कोरोना संक्रमणका कारण सुत्केरी महिलाको मृत्यु भएपछि उनको उपचारमा संलग्न चिकित्सकहरुलाई क्वारेन्टाईनमा राखिएको छ भने अस्पताल र सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाईएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update