Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न घुस मागेको अडियो सार्बजनिक भएको छ । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद श्रेष्ठले घुस मागेको अडियो टेप सार्बजनिक भएको हो । अडियो टेपमा श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग उक्त घुस मागेको सुनिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । अडियो कुराकानीमा उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् । प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् ।

अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गर्ने तयारी गरेको छ । महामन्त्री डा. मुकुल ढकालले अडियो आफूले पनि सुनेको र त्यसबारे सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिने बताए । 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update