काठमाडौँ । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याएका छन् । सरकार सञ्चालनका लागि बनेको कांग्रेस–माओवादी केन्द्र नेतृत्वको १० दलीय गठबन्धनले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
बिहीबार सिंहदरबारमा आयोजित एक समारोहमा मस्यौदा समितिका तर्फबाट पूर्वमन्त्री एवम् जसपाका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनबाट पारित भएको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे ।
प्रधानमन्त्री दाहालका तर्फबाट न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जन, विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयताको कार्यान्वयन गर्नेमा गठबन्धन सरकार प्रतिबद्ध रहेको बताइन् ।