Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मानवअधिकारवादी संस्था हुराडेक नेपाल ३१ औं वर्षमा

चरिकोट । मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल ३० वर्ष पुरा गरेर ३१ औं वर्षमा प्रवेश गरेको छ । मोफसलको बलियो मानवअधिकारवादी संस्थाको रुपमा स्थापित हुराडेकले दोलखा सदरमुकाम चरिकोटमा बिहीबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ३१ औं वार्षिक उत्सव मनाएको छ ।

संस्थाका अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमका बक्ताहरुले मानवअधिकारको क्षेत्रमा संस्थाले पुर्याएको योगदानको चर्चा गर्दै बदलिएको परिस्थिति अनुसार आफ्नो भूमिकालाई बढाउनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानी, तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवि मास्के, बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई, ग्रामिण विकास टुकी संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठ लगायतले अहिलेको परिस्थितिमा नागरिकले पाईरहेको संकट र पिडा मानवअधिरको अबको एजेण्डा हुनुपर्ने बताए । 

कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष होम पाठकले सशस्त्र युद्ध लगायतका कठिन परिस्थितिमा पनि संस्थाले मानवअधिकारको क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको बताए । कार्यक्रममा पत्रकार महासंघ दोलखाका सचिव दिलबहादुर केसी, संस्थाका कार्यकारी निर्देशक सुन्दर लामिछाने लगायतले मन्तव्य राखेका थिए । 

यसैबीच हुराडेक नेपालले स्थापना गरेको स्वर्गीय पशुपति चौलागाई स्मृति मानव अधिकार, समाजसेवा पुरस्कार बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेतलाई प्रदान गरेको छ । वार्षिक उत्सब एवं ३१ औं साधारण सभाको अबसरमा दश हजार रुपैयाँ राशी रहेको उक्त पुरस्कार बस्नेतलाई प्रदान गरिएको हो । बस्नेतले मानवअधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि बर्जुराम घतानीले बस्नेतलाई सम्मानपत्र र दोसल्लासहित नगद पुरस्कार प्रदान गरे । । 
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update