Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नाबालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक र काभ्रेका दुई जना पक्राउ

काठमाडौं । एक नाबालिगमाथि सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक र काभ्रेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्दै आएका २१ वर्षका निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई टोखा–६ धापासी बस्दै आएका २१ बर्षका कुशल श्रेष्ठ रहेका छन् । 

प्रहरीका अनुसार तामाङले ९८४८७७८०२१ नम्बर प्रयोग गरेर आशिष तामाङ नाम राखी नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएका थिए । फेसबुकमार्फत भेटघाटको समय मिलाएर गत फागुन ६ गते काठमाडौंको टोखामा भेटी कुशलसहितले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

पीडितको जानकारीका आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई धापासीबाट पक्राउ गरेको हो । काठमाण्डौं अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेका दुवैजनालाई अन्य थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update