Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पूर्व नगरप्रमुख र प्रशासकीय अधिकृत बिरुद्ध अख्तियारमा मुद्धा

काठमाडौँ । सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध ५० लाख रुपैयाँ बिगोसहितको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्य पालिकाहरूमा भएको कामको डुप्लिकेसन गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुबिरुद्ध मुद्धा दायर गरेको हो ।

पञ्चपुरी नगरपालिकाले नमुना समाज सुर्खेतका नाममा रकम भुक्तानी गरेको भन्दै उनीहरुमाथि विशेष अदालतमा मुद्दा दायर भएको हो । अख्तियारको अनुसन्धान अनुसार उक्त पालिका प्रमुख उपेन्द्र बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीले नमुना समाज सुर्खेतसँग सम्झौता गरी लाखौं रकम हिनामिना भुक्तानी दिएको देखिएको छ । ती पालिकाहरूले बैठक र खरिद ऐनबिना नै रकम भुक्तानी दिएको अख्तियारको दाबी छ ।

जसअनुसार पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख उपेन्द्र बहादुर थापा, पञ्चपुरी नगरपालिका नगरकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, पञ्चपुरी नगरपालिका नगर कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटा, पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा, पञ्चपुरी नगरपालिकाका लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जीएम भनिने लालबहादुर घर्ती मगर र नमुना समाजका अध्यक्ष भूमिसरा पुलामीविरुद्ध अख्तियारले ५० लाख बिगो दाबीसहितको मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update