काठमाण्डौं । डलर साट्ने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर २ कर्थली घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षिय भिम बहादुर तामाङ रहेका छन् ।
उनी डलर साट्ने भन्दै बिभिन्न व्यक्तिबाट मोटो रकम ठगी गर्ने कार्यमा संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार तामाङले उपत्यकाको बिभिन्न स्थानहरुबाट बिभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी डलर साटीदिन्छु भन्दै तीस लाख पचास हजार रुपैयाँ ठगी गरेको भनी उजुरी परेको छ । पीडितहरुको उजुरी र सिसिटिभि फुटेजको आधारमा उनीमाथि थप अनुसन्धान भैरहेको छ । सोही कार्यमा संलग्न अन्य दुई जना भने फरार रहेका छन् ।
फरार रहेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का २८ वर्षिय सुमन भन्ने सरोज तामाङ र अन्दाजी २८ वर्षिय संजिब तामाङको खोजी भैरहेको प्रहरीले जनाएको छ ।