काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्मा हेरफेर हुन लागेको हो । पुस ११ मा शपथ लिएसँगै उनले माघ ३, १४ र २३, फागुन १४ र १६ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
सत्तासाझेदार दलहरुमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र जनमोर्चाबाहेक ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । कांग्रेस ८, एस र जसपा २–२, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आजपा १–१ मन्त्रालय लिएर सरकारमा जाने भएका छन् । यसअघि नै सरकारमा रहेका माओवादीले ५ र जनमतले १ मन्त्रालय पाएका छन् ।प्रधानमन्त्री निकट स्रोतका अनुसार शुक्रवार बिस्तार हुने मन्त्रिपरिषदमा राज्यमन्त्री भने थपघट हुनसक्ने सम्भावना छ ।
प्रधानमन्त्रीले बिहीबार पनि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सीके राउत, लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतसँग छलफल गरेका थिए । सहमतिलाई शुक्रबार बिहानसम्म अन्तिम रूप दिएर अपराह्न नयाँ मन्त्रीहरूलाई शपथ खुवाउने तयारी रहेको छ ।