काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा शुक्रबारदेखि सुरु भएको छ । देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा एसईई सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थी सहभागी हुँदैछन् । प्रश्नपत्र, उत्तरपुस्तिका, प्रवेशपत्रलगायत परीक्षा सामग्री केन्द्रमा पुर्याइसकेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । उनका अनुसार ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने बोर्डले जनाएको छ ।
७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एसईई परीक्षा समिति गठन गरेर व्यवस्थित गरिएको हो । विद्यार्थीले पढेको भन्दा फरक विद्यालयको केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ । कोरोनाकालमा विद्यार्थीले होमसेन्टरबाटै परीक्षा दिएका थिए ।