Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको बाबरेमा मदिरा उत्पादन गर्न निषेध, अटेर गरे सेवा सुविधा नदिईने 

चरिकोट । स्थानीय सरकारले कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेमा मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएको छ । वडा कार्यालयले धूम्रपान तथा मद्यपान न्यूनीकरणका लागि भन्दै स्थानीयबासीको नाममा यस्तो उर्दी जारी गरेको हो ।

वडा अध्यक्ष हेम बहादुर पाण्डेले जारी गरेको सूचनामा स्थानीय स्तरमा मदिरा उत्पादन गर्न नपाईने र लुकिछिपी बिक्रीबितरण गरेको पाईए वडा कार्यालयबाट दिने सेवा सुविधा बन्द गर्ने चेतावनी दिईएको छ । सूचनामा भनिएको छ, ‘स्थानीय स्तरमा मदिरा उत्पादन गर्न पाईने छैन तर साँस्कृतिक, धार्मिक पर्बहरुमा भने संस्कार परम्परा अनुसार न्यूनीकरण गर्दै लैजानु पर्नेछ ।’

जारी सूचनामा गाउँकार्यपालिकाको प्रचलित नियमानुसार सम्बन्धित निकायबाट अनुमति लिएर भने आयातित मदिरा भने बिक्री बितरण गर्नेगरी होटल तथा पसल सञ्चालन गर्न सकिने उल्लेख छ । वडा कार्यालयले मदिराजन्य पदार्थको खाली बोटलहरु चैत्र मसान्तभित्र व्यवस्थापन गर्न सम्बन्धित पसल वा होटल व्यवसायीलाई आग्रह पनि गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update