Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेकपा एसका बरिष्ठ नेताहरु एमाले फर्किने तयारीमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केही वरिष्ठ नेताहरूले नेकपा एमालेमै फर्किने तयारी गरेका छन् । नेकपा एसका संस्थापक नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगली एमालेमा फर्किन छलफलमा छन् । एमालेमा फर्किने तयारी गरेका मुकुन्द न्यौपाने पार्टीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा छन्  उनले लामो समयदेखि नेकपा एसभित्र फरक मत राख्दै आएका छन् ।

उनले कांग्रेसको सहयोगी भएर वामपन्थी आन्दोलनको हित नहुने भन्दै एमालेसँग मिल्न लिखित प्रस्ताव समेत राखेका थिए । न्यौपानेले पछिल्लो पटक माधव नेपालले राष्ट्रपति पद लिएर पार्टी एकता गर्ने प्रस्ताव समेत नमानेको भन्दै अध्यक्ष नेपाल इण्डो–अमेरिकन एजेण्टमा पतन भएको आरोप लगाएका छन् । उनले माधव नेपालबाट नेपालको कम्युनिस्ट र देशभक्तिको आन्दोलनको नेतृत्व नहुने बताएका छन् ।

न्यौपानेसँग नेकपा एसको मंगलवार बसेको बैठकले स्पष्टीकरण सोधेको छ । सोही बैठकले उपाध्यक्ष केदार न्यौपाने र चूडामणि जंगलीको राजीनामा स्वीकृत गरिसकेको छ । यी नेताहरू एमालेमा फर्किनका लागि छलफलमा छन् । अन्य असन्तुष्ट नेता कार्यकर्तासहित समेटेर एमालेमा फर्किने तयारी भइरहेको नेता जंगलीले बताए । 

नेकपा एसका अध्यक्ष माधव नेपालको पछिल्लो गतिविधिप्रति सम्मानित नेता झलनाथ खनाल समेत सन्तुष्ट छैनन् । उनले कम्युनिस्ट पार्टी कमजोर बनाउन माधव नेपालको भूमिका देखिएको भन्दै अब के गर्ने भन्नेबारेमा केन्द्रीय तहका नेताहरूसँग परामर्श थालेको बताईएको छ । 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update