काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मुलुक लकडाउनमा रहेका बेला चोरी गर्ने गिरोह सक्रिय हुन थालेको छ । सिन्धुली, भोजपुर र दोलखा जिल्ला घर भई काठमाण्डौंमा मुर्ति र नगद चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लकडाउनका वेला गोकर्णेश्वर–८ स्थित गणेश मन्दिरको ढोका फोडेर दान बाकस तथा महादेवको मूर्ती चोरी गरिएको हो । उक्त चोरीको घट्नामा संलग्न भएको अभियोगमा सिन्धुलीका १९ वर्षीय सुजन तामाङ र भोजपुरका २० वर्षीय पृथ्वी विकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसार उनीहरुले रातको समयमा मन्दिरमा रहेको मूर्तिसँगै दान पेटिकाबाट १० हजार र बाहिर रहेको ३ हजार रुपैयाँ चोरी गरेका थिए । उक्त घट्नाको बिस्तृत छानविन भैरहेको प्रहरीले जनाएको छ ।
यसैबीच चन्द्रागिरि–१५, रावत टोल बस्ने राजेश मानन्धरको घरमा प्रवेश गरी सुनको गरगहना र टिभी चोरी गरेको अभियोगमा दोलखा जिल्ला घर भएका छिरिङ भन्ने रविन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला दोलखा भएपनि उनको बिस्तृत ठेगाना खुलिसकेको छैन । प्रहरीका अनुसार उनले १५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।
उनी उपर थानकोट प्रहरीले थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ । छिरिङ २०६८ सालमा पनि चोरी सम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त, कीर्तिपुरबाट पक्राउ परेका थिए । उनी यसअघि जिल्ला ४ वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।