काठमाडौँ । तामाकोसी–काठमाडौं २२०–४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न नहुँदा मध्ये भोटेकोसी जलविद्युत आयोजनाको विद्युत खेर जाने अबस्था आएको छ । विद्यूत खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न गर्न ताकेता गरेको छ ।
विद्युत प्रसारण लाईनको अभावमा चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत खेल जाने अवस्था आएको हो । विद्यूत खेर जान नदिन प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राख्दै निर्माण छिटो सम्पन्न गर्न ताकेता गरेको हो ।
नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमता वृद्धिका लागि २२०–१३२–३३ केभी, २०० एभीए क्षमताको थप पावर ट्रान्सफर्मर जडान कार्य भैरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालय उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले शनिबार स्थलगत अनुगमन गरेको छ ।
भ्रमणका क्रममा उक्त टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण प्रगतिका बारेमा छलफल गरेको छ । टोलीले प्रसारण लाइन निर्माणमा रुख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्री तथा उपकरणहरको आपूर्ति, स्थानीयको अवरोध, निर्माण सम्पन्न हुने तालिका लगायतका विषयमा विस्तृतरुपमा छलफल गरेको थियो । टोलीले नयाँ खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइन र सबस्टेसनको काम आगामी साउनभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माणमा संलग्न व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
रामेछापका मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसन देखि सिन्धुपाल्चोकको बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर छ । रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला भएर जाने नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९३ वटा टावरको जग हालिएको छ । ७३ वटा टावर खडा गरिएको छ । २० किलोमिटर तार तानिएको छ । ६ वटा टावरको जग हाल्ने र ३ वटा टावर खडा गर्ने काम भइरहेको छ । रामेछापमा पर्ने तीन वटा टावरको निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको छ ।
दोलखामा पर्ने ८४ वटा टावरमध्ये मेलुङ गाउँपालिका–७ सित्तलीमा निर्माण हुने एक वटा टावर जग्गाधनीको अवरोधका कारण निर्माण हुन सकेको छैन । अधिग्रहण गरिने जग्गाका लागि २०७७ को पुसमा प्रति रोपनी १० लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएकोमा त्यसमा असहमति जनाउँदै जग्गाधनीले निर्माणमा अवरोध गरिरहेका छन् । सिन्धुपाल्चोकमा पर्ने ३१ वटा टावरमध्ये १३ वटाको जग हालिएको छ भने ३ वटा खडा गरिएको छ । भौगोलिक रुपमा कठिन तथा जटिल स्थानमा पर्ने बाँकी टावरहरु निर्माणका टावर निर्माणस्थलसम्म पुग्न पहुँच सडक खन्ने काम भइरहेको छ । नयाँ खिम्ती–बाह्रबिसे खण्डको समग्र निर्माण प्रगति ७० प्रतिशत रहेको छ ।
तामाकोसी–काठमाडौं २२०-४०० केभी प्रसारण लाइन आयोजना बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०-१३२-११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००-२२०-१३२-११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ ।
तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरुका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न लागिएको हो । प्रसारण लाइनमा नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण रहेको छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको २२०-१३२ केभी, १०० एभीए क्षमताको नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तारका लागि काम भइरहेको छ । खिम्ती र लिखू नदी करिडोरमा निजी क्षेत्रका जलविद्युत् आयोजनाका विद्युत् जोड्नका लागि नयाँ खिम्ती सबस्टेसनको हालको क्षमताले नधान्ने हुँदा क्षमता विस्तार गर्न लागिएको हो । यसका लागि सबस्टेसनमा ६६.६७ एमभीएका ४ वटा, ३० एमभीएका २ वटा र ६र८ एमभीएको १ वटा पावर ट्रान्सफर्मर जडान कार्य भइरहेको छ ।