काठमाडौं । सत्तारुढ गठबन्धनभित्र शक्ति बाँडफाँडको भागबण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तार अझै हुन सकेको छैन । दश दलीय गठबन्धनमा साना दलले धेरै मन्त्रालयमा दाबी गरेपछिमा मन्त्रिपरिषद बिस्तारमा ढिलाई भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसद संख्याको आधारमा मन्त्रालय भागबन्डाको प्रस्ताव गरेपनि साना दलले अडान छाडेका छैनन् ।
सत्ता समीकरण फेरिएपछि चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल सरकारलाई पूर्णता दिने बताएका थिए । प्रचण्डले बुधबार साँझदेखि नै मन्त्रिपरिषद बिस्तारबारे गठबन्धन दलका शीर्ष नेताहरूसँग पटक–पटक छलफल गरेपनि टुंगो नलागेको स्रोतको भनाई छ ।
आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर लाने प्रधानमन्त्रीको प्रयास छ । साना दलले धेरै मन्त्रालयमा दाबी रहेपछि मिलाउन सकस देखिएको बताईएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आज आयोजित एक कार्यक्रममा एक दुई दिन भित्रै मन्त्रिपरिषद बिस्तार हुने बताएका छन् ।