Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको जनसंख्या बृद्धिदर ०.७४ प्रतिशतले घट्यो

चरिकोट । २०७८ सालको जनगणनाले दोलखा जिल्लाको जनसंख्या ऋणात्मक देखाएको छ । दोलखासहित हिमाली र पहाडी क्षेत्रका ३४ वटा जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर ऋणात्मक देखिएको हो । रामेछाप जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर सबैभन्दा बढी ऋणात्मक देखिएको छ ।

३४ जिल्ला मध्ये दोलखा वार्षिक रुपमा जनसंख्या बृद्धिदर घट्ने जिल्लामा १४ औ स्थानमा छ । २०६८ सालको जनगणनामा दोलखाको जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ रहेकोमा २०७८ सालको जनगणना अनुसार १ लाख ७२ हजार ७ सय ६७ देखाईएको छ ।

दोलखाको जनसंख्या बृद्धिदर ०.७४ प्रतिशतले घटेको हो । सिन्धुपाल्चोक, ओखलढुंगा लगायत जिल्लाको जनसंख्या बृद्धिदरपनि घटेको छ । 

२०७८ सालको जनगणना अनुसार दोलखा जिल्लाको परिवार संख्या जम्मा ४९ हजार ५ सय ३८ छ । जिल्लाको कुल जनसंख्या १७२७६७ रहेकोमा पुरुषको संख्या ८३७२० छ भने महिलाको संख्या ८९०४७ रहेको छ । जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या ०.९४ प्रतिशत बढी देखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update