Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
संसदीय समिति नबनाई संसद अधिवेशन सकिँदै

काठमाण्डौं । संसद्को चालु अधिवेशन सकिने दिन धेरै छैन । तर मिनी संसद्का रूपमा चिनिने संसदीय समिति गठन लगायतका काम भने अझै अधुरो छ । संसद्ले अहिलेसम्म प्रतिनिधिसभा नियमावली समेत पास गरेको छैन । नियमावली पास नहुँदा संसदीय समिति गठनको प्रक्रिया रोकिएको हो । 

२५ पुसमा आह्वान भएको हिउँदे अधिवेशन ढिलोमा २० चैतसम्म चल्ने र बजेट अधिवेशन बोलाउन एक महिना समय राख्नुपर्ने प्रावधानका कारण चालू अधिवेशन अन्त्य हुने समय नजिक पुगेको छ । जसका कारण बढीमा १० दिन चल्ने अधिवेशनभित्र नियमावली पारित भएर संसदीय समिति गठन हुनेमा आशंका छ ।

सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए–गरेका काम–कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय–सल्लाह दिन प्रतिनिधिसभामा १० समिति गठन हुन्छन् । दुईवटा समिति राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य रहने संयुक्त समिति हुन्छन् । 

प्रतिनिधिसभा नियमावलीको मस्यौदा महिना दिनदेखि सदनमा थन्किँदा संसद् आफैँ कानुनविहीन अवस्थामा छ । अधिवेशन सुरु भएको दुई महिना बितिसक्दा पनि प्रतिनिधिसभाले आफ्नै कानुन बनाउन सकेको छैन, जसले कामकारबाही प्रभावित भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update