Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।

काफ्लेले गठबन्धनमा भएका सबै दलहरु मिलेर जाने सहमति अनुसार मुख्यमन्त्रीलाई विश्वासको मतदिने तर मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी रहने बताए । मुख्यमन्त्री जम्कट्टेलले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए । तर कांग्रेसले निर्णय गर्न ढिला गरेका कारण बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ ।

सत्ता गठबन्धनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि दलहरुबीच शक्ति बाँडफाँटको विषय टुंगिएको छैन । मुख्यमन्त्री पाँचै वर्ष माओवादीले नै पाउने वा पहिले कांग्रेसले पाउने भन्ने विषयमा नेताहरुबीच विवाद हुँदा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्न ढिला गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update