Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अयोग्य भनिएका लडाकुलाई दुई लाख राहत दिने तयारी

काठमाडौं । अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले राहत दिने प्रक्रिया सुरु भएको छ । गृहमन्त्रलयका अनुसार बुधबारदेखि राहत बितरणको प्रक्रिया अघि बढेको छ । मन्त्रिपरिषदको गत सोमबारको बैठकले माओवादीका अयोग्य लडाकुहरुलाई कार्यविधि बनाएर राहत दिने निर्णय गरेको थियो ।

त्यसका लागि कार्यविधि बनाउने प्रक्रिया बुधबारदेखि सुरु हुने गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले जानकारी दिए । उनका अनुार कार्यबिधिका आधारमा आवश्यक पहिचान गरी राहत वितरण कार्य सुरु गर्ने तयारी छ । चालू आर्थिक वर्षदेखि नै राहत वितरण गर्नेगरी प्रक्रिया अघि बढ्ने उनले बताए । राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने छ ।

५ मंसिर २०६३ को विस्तृत शान्ति सम्झौतापछि माओवादी लडाकू र हतियार व्यवस्थापनका लागि संयुक्त राष्ट्रयसंघीय मिसन (अनमिन) नेपाल आएको थियो । उसले १९ हजार ६०२ जना लडाकूहरुलाई प्रमाणीकरण गरेको थियो । ४ हजार ९ जनालाई ‘मापदण्डमा नपरेको’ भनी अलग गरेको थियो । अयोग्य ठहर्याइएका तिनै लडाकुहरुलाई अहिले सरकारले राहत दिने प्रक्रिया अघि बढाएको हो ।  

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update